बागलुङ, असार ५ गते ।
दक्षिण बागलुङको बरेङ गाउँपालिकामा नयाँबजार–हुग्दीशिर जोड्ने सडक कालोपत्रे गरिएको छ । २०६४ जेठ १० गते ट्याक खुलेको यो सडक १९ वर्षपछि स्तरोन्नतिसँगै कालोपत्रे रिएको हो । बरेङ–२ हुग्दीशिरदेखि वडा नं. ३ बाटाकाचौर जोड्ने दोस्रो सडक खण्डमा ८ सय मिटर सडक कालोपत्रे गरिएको हो ।
गगन बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि. काठमाडौँले ८१ लख ८९ हजार तीन सय ३३ रुपियाँमा ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिसँगै कालोपत्रेको काम सम्पन्न गरेको पालिकाका इन्जिनियर रामकृष्ण पौडेलले जानकारी दिनुभयो ।
विसं. २०८२ वैशाख १५ मा काम सम्पन्न गर्नेगरी २०८१ मङ्सिर १८ गते ठेक्का सम्झौता गरेको गगन बिल्डर्सले तोकिएको समयमा काम नसकेपछि थपिएको जेठ १५ मा काम सम्पन्न गरेको हो ।
गण्डकी प्रदेश सरकारको समपुरक अनुदान र गाउँपालिकाको बजेटबाट सडक कालोपत्रे गरिएको हो । आठ सय मिटर सडकमध्ये चार सय ८० मिटरमा प्रि–मिक्स कार्पेट प्रविधिको कालोपत्रे र तीन सय २० मिटर सडकमा ढलान गरिएको हो । ६ मिटर चौडा सडकमा कालोपत्र र ढलान गरिएको पौडेलले जानकारी दिनुभयो ।
यसअघि बरेङको प्रशासनिक केन्द्र रहेको वडा नं. २ हुग्दीशिरको सुदलादेखि वडा नं. ३ बाटाकाचौर जोड्ने सडक खण्डमा आठ सय ३० मिटर कालोपत्रे गरिएको छ । पालिकाको बजेटमा सडक कालोपत्रे गरिएको हो । सिजन बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि.ले ८१ लाख ८५ हजार रुपियाँमा ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम सम्पन्न गरेको इन्जिनियर पौडेलले बताउनुभयो ।
पालिकाका इन्जिनियर रामकृष्ण पौडेलका अनुसार, आर्थिक हिसाबले मितव्ययी र शाखा सडकमा गरिने प्रि–मिक्स कार्पेटिङ प्रविधिको कालोपत्रे गरिने छ । सडक कालोपत्रेसँगै नाली निर्माणदेखि टेवा पर्खाल र सडक ढलानको काम गरिएको छ । दुवै सडकखण्ड कालोपत्र हुँदा बरेङसँगै गुल्मी शान्तिपुरका नागरिकलाई यात्रासँगै खाद्यन्न र कृषि उपज ढुवानीमा सहज हुने छ ।
लामो समयदेखि सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा समेत असहज भइरहेको थियो । ‘‘सडक कालोपत्रे भएपछि हिउँदमा धुलो र वर्षामा हिलो सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका नागरिकले अब सहज यात्रा गर्न पाउने छन्’’ गाउँपालिका अध्यक्ष शर्माले भन्नुभयो । बाटाकाचौरका नयाँबजार, साग्दी र खाल्लेवासीलाई कालोपत्रे सडकले सहज यात्रासँगै खाद्यान्न ढुवानीमा लाभ हुने अध्यक्ष शर्माको भनाइ छ ।