बबई (बर्दिया), जेठ ११ गते ।
बारबर्दिया नगरपालिका–११, जब्दी गाउँका ५८ वर्षीय भग्गु थारू आफ्नो घरअगाडिबाट यातायात सञ्चालन हुने भएपछि निकै खुसी हुनुभएको थियो तर उहाँको खुसी धेरै दिन टिक्न पाएन ।
सडक डिभिजन कार्यालय बाँकेसँग आव २०७०/७१ मा सम्झौता गरेर पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल हस्तान्तरण हुनुपूर्व नै बाढीले बगाएपछि बारबर्दिया र गुलरिया नगरपालिकाको यातायात सम्पर्क नै टुटेको आठ वर्ष पुगेको छ । यसबिचमा धेरै समय परिवर्तन भए पनि नदीले बगाएको जब्दी पुल भने जस्ताको तस्तै छ ।
गुलरिया र बारबर्दिया जोड्ने बबई नदीमा निर्माण भएको जब्दी पुल २०७४ साल असार ३० गते राति आएको बाढीले १४ वटा पिल्लरमध्ये उत्तरतर्फका चार वटा पिल्लर भासिएपछि पुलबाट यातायात साधन आवतजावत नै बन्द भयो । २०७९ साउन २९ गते राति आएको बाढीले पुलका दुई वटा पिल्लर नै बगायो । स्थानीय थारूले भन्नुभयो, “यातायात चल्छ कि भन्नेमा निकै आशा गरेका थियौँ, अब सदरमुकामसँग गाउँको दुरी निकै नजिक हुन्छ भन्ने मनमा थियो तर पुल बनेर हिँड्न नपाउँदै पुल बाढीले बगायो ।”
२०७९ सालको बाढीले पुलको स्लोप बगाएपछि अहिले सबै ठप्प छ । बारबर्दिया–११ का स्थानीय विश्वास सिंहले पुल निर्माणका लागि धेरै पटक आन्दोलन भएको बताउनुभयो । पुल भासिएको आठ वर्ष पूरा भएको छ ।
बारबर्दिया नगरपालिका र सदरमुकाम गुलरियाको दुरी आठ किलोमिटर पनि छैन । यातायात सञ्चालन भएको भए बारबर्दियामा उत्पादन गरेको कृषि उपजले राम्रै बजार पाउने अपेक्षासमेत यहाँका कृषकको थियो तर पुल निर्माण भएर सञ्चालनमा आउन नपाउँदै पुल भत्किएसँगै किसानका सपना पनि भत्किएका छन् । बारबर्दिया नगरपालिका जयनगरका देवीराम भण्डारीले अहिले पुल निर्माणको सबै काम ठप्प रहेको बताउनुभयो । कृष्णसार यातायात व्यवसायी प्रालि बर्दियाका अध्यक्ष रवि मल्लले पुल निर्माण भएको केही समयसम्म गुलरियादेखि बारबर्दियासम्म यातायात सञ्चालन गरेको स्मरण गर्दै २०७४ मा बाढीले पुल भासिएपछि यातायात सञ्चालन बन्द भएको बताउनुभयो ।
नदीले बगाएको जब्दी पुल निर्माणका लागि बर्दिया क्षेत्र नं. १ का सङ्घीय सांसद दुई वर्षअघि पुलकै तल आठ दिन अनशन बस्नुभएको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले अनशन स्थलमा पुगेर पुल निर्माण हुने कुरामा विश्वस्त बनाउँदै सांसदको अनशन तोडाउनुभयो तर पुल निर्माणले गति लिन सकेन ।