गाईघाट, जेठ २ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक जमिनमा कानुनविपरीत निर्माण गरिएका दर्जनभन्दा धेरै घरटहरा बिहीबार डोजर लगाएर भत्काएको छ ।
नगरपालिकाले त्रियुगा बसपार्क विस्तारका लागि वडा नम्बर ३ स्थित बसपार्क क्षेत्रमा रहेका सबै अवैध संरचना भत्काएको हो । उक्त क्षेत्रमा सार्वजनिक ऐलानी जग्गामा बनेका व्यक्तिविशेषका नौवटा घर भत्काइएको वडा नम्बर ३ का वडाध्यक्ष तिलकबहादुर कटुवालले बताउनुभयो ।
जिल्ला अदालत उदयपुरको २०७६ साल जेठ ५ को आदेश अनुसार त्रियुगा बसपार्क विस्तार गर्न नगरपालिकाले कानुनी प्रव्रिmया पूरा गरी सूचना जारी गरेर स्वयम् घरटहरा निर्माणकर्तालाई आफैँ हट्न पटक पटक सूचना दिएको थियो । त्यसपछि पनि अटेर गरेर बसिरहेकाले नगरपालिकाले बाध्य भएर डोजर प्रयोग गरी अवैध संरचना हटाउनु परेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो ।
जिल्ला अदालत उदयपुरले दिएको आदेश अनुसार सत्यदेवदास चौधरी, बलदेवदास चौधरी, शङ्कर चौधरी, सोनु चौधरी, सञ्जयवती चौधरीलगायत विभिन्न व्यक्तिले सार्वजनिक जग्गा कब्जा गरी निर्माण गरेका टिनको छाना भएको घर हटाइएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
घर भत्काइएका वास्तविक सुकुमवासीलाई नगरपालिकाले अर्को स्थानमा स्थान्तरण गर्ने भनी नगर कार्यपालिकाले निर्णयसमेत गरेको छ । नगरले दुई कट्ठा जग्गा हुनेलाई एक कट्ठा र एक कट्ठा हुनेलाई १० धुर घडेरी दिने नीति लिएको उहाँले बताउनुभयो । त्रियुगा नदी किनारमा रहेका यी संरचनाले आधुनिक बसपार्क निर्माणमा अवरोध पु¥याएकाले भत्काइएको हो । यसै गरी त्रियुगा नगरपालिका–१३ मा रहेको कोशी प्रदेशकै सबैभन्दा ठुलो संरचना मदन भण्डारी सभाहल आसपास पनि व्यक्तिविशेषका तीन वटा घर भत्काउने योजना रहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।