Alliancekhabar

शनिबार, आश्विन ०५, २०८१

छ दशक उमेर पार गरिरहेका पशुपति श्रेष्ठ सधै झैँ गत साउन २० गते पनि ‘मर्निङवाक’ का लागि बिहान ५ नबज्दै घरबाट निस्कनुभयो । उहाँले शरीर फुर्तिलो र निरोगी बनाउन ‘मर्निङवाक’ निस्कन थाल्नुभएको पनि बर्सौं भइसकेको थियो । सधैँ त ‘मर्निङवाक’ सकेर सामान्य अवस्थामै घर फर्कने श्रेष्ठलाई त्यो दिन भने जीवनमै नसोचेको दुर्घटना भयो । उहाँ नियमित ‘मर्निङवाक’ निस्कने नारायणगढ बजारसँगै रहेको नारायणी नदीकिनारमा झिसमिसे उज्यालोसँगै बाघले आक्रमण गर्‍यो । बाघसँग जुधेर उहाँको ज्यान त बच्यो तर दाहिने हात, देब्रे फिला र घुँडामा गम्भीर चोट लाग्यो ।

“म मर्निङवाक दिनदिनै निस्कन्छु । त्यो दिन पनि म बिहानै नदीकिनार पुगेँ । नदीकिनार पुग्दा एक जनाले योग गरिरहेका थिए । उनी सधैँ योग गर्छन् । अन्य चार जना पनि म जसरी नै आहोरदोहोर गरेर हिँडिरहेका थिए,” बाघले आक्रमण गरेको दिनको घटना सुनाउँदै उहाँले थप्नुभयो, “म हरेक दिन नारायणी नदीकिनारमा छ पटक वारपार गर्छु । त्यो दिन पनि पाँचौँ पटक ओहोरदोहोर गर्दा अन्तिम पटकमा मलाई बाघले आक्रमण र्‍यो । कताबाट आएर आक्रमण गर्‍यो पत्तै भएन ।” “झ्याप्प अगाडिबाट आयो, आक्रमण गर्‍यो । मैले हात (दाहिने हात) ले रोक्न खोजेँ । उसले मुखले त्यै हातमा कोपर्‍यो । पन्जाले चिथोर्‍यो । म चार/पाँच फिट टाढा जमिनमा लड्न पुगेँ । यो बेलासम्म नारायणी नदीकिनारमा मानिस भरिइसकेका थिए । उनीहरूले होहल्ला गरेपछि बाघ लुसुक्क लागेर गयो,” बाघले आक्रमण गरेको कथा भनिरहँदा उहाँको शरीर अझै पनि डरले टक्क फुले जस्तो देखिन्थ्यो । आफू ब्युझँदा चितवन मेडिकल कलेजको शय्यामा पाएको उहाँले बताउनुभयो । मानिसलाई दुःख पनि समस्या परेकै बेला थपिन्छ । बाघबाट बचेको ज्यान अस्पतालमा आफ्नै कृत्रिम दाँत घाँटीमा अड्केर धन्नै नमरेको उहाँले सुनाउनुभयो ।

संरक्षित क्षेत्रबाट मानव बस्तीमा निस्केका बाघको आक्रमणबाट देशैभरि विगत दुई वर्षमा उहाँ जस्ता २७ जना मानिसको अङ्गभङ्ग भएको छ । अझै यो अवधिमा २७ जनाले त बाघकै आक्रमणबाट ज्यान गुमाएका छन् ।

“मेरो पाँच वटा दाँत कृत्रिम हो । बाघले आक्रमण गर्दा लडेर त्यो दाँत त आफ्नो ठाम छाडेर घाँटीमा अड्किन पुगेछ । अब भयो फसाद । यही दाँत कसरी निकाल्ने भन्नेमै डाक्टरहरू अलमलमा परे । हातको शल्यक्रिया गर्न पनि यसकै कारण ढिला भयो । दाँत अड्किएर सास फेर्न गाह्रो भयो,” उहाँले पीडा सुनाउनुभयो, “पाँच/सात मिनेटसम्म जोडले खोकेपछि घाँटीमा अड्किएको दाँत निस्कियो । अनि भाँचिएर हड्डी नै धुजाधुजा भएको हातको अप्रेसन सुरु भयो । अप्रेसन गर्न पनि पाँच/छ घण्टै पो लाग्यो ।” चितवन मेडिकल कलेजमा २६ दिनको उपचारपछि अहिले घरमै आराम गरिरहेका श्रेष्ठ आफू संयोगले बाँचे पनि अब कसैलाई बाघले आक्रमण गरेको सुन्न नपाए हुन्थ्यो भन्नुहुन्छ ।

श्रेष्ठ एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । संरक्षित क्षेत्रबाट मानव बस्तीमा निस्केका बाघको आक्रमणबाट देशभरि विगत दुई वर्षमा उहाँ जस्ता २७ जना मानिसको अङ्गभङ्ग भएको छ । अझै यो अवधिमा २७ जनाले त बाघकै आक्रमणबाट ज्यान गुमाएको तथ्याङ्क राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागसँग छ । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा गरी ६४७ पशु क्षति र २५ बाघ मरेका छन् । यसरी धेरैको ज्यान जाने र मानिसको अङ्गभङ्ग भएको घटनाले संरक्षित क्षेत्रवरपर बसेका बासिन्दा र निकुञ्जबिच बाघकै कारण द्वन्द्व बढेको देखिन्छ ।

नेपालमा बाघ तराई भूपरिधिमा रहेका पाँच वटा निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रमा पाइन्छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्र एवं वन क्षेत्र नेपालमा तराई भूपरिधिभित्र पर्छ । यो बाघको मुख्य बासस्थान पनि हो । नेपाल, छिमेकी देश भारतलगायत विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ । यो पनि पूर्वी र दक्षिण एसियामा मात्रै । नेपालमा पाइने बाघ स्वस्थ पारिस्थितिकीय प्रणालीमा सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहको प्रजाति हो । ‘आकुन रेड लिस्ट अफ थ्रेड इस्पेसिक’ (आयुसिएन) को सङ्कट सूचीको वर्गमा साइटिसको अनुसूची–१ मा रहेको बाघ नेपालको पनि संरक्षित वन्यसूचीमा पर्छ । करिब ११ फिट लामो शरीर, तीन सय किलोग्राम तौल र चार इन्चसम्म लामा तिखा कुकुर दाँत रहने यो हिंस्रक जनावर हो । १० देखि १५ वर्षसम्म औसत आयु हुने बाघ जन्मिएको करिब तीन वर्षपछि आमा छाडेर आफ्नो बासस्थानको खोजीमा लाग्छ । उच्च वातावरणीय अनुकूलदेखि खुला घाँसेमैदान र उष्ण सदाबहार भूभागको बाघ रैथाने जनावर हो । बढ्दो वन अतिक्रमण, चोरीसिकारकै कारण सङ्कटमा परेका बाघ अहिले संरक्षणका कार्यक्रम ल्याएसँगै उल्लेखनीय रूपमा वृद्धि भएका छन् । यसको संरक्षण गर्नुपर्ने दायित्व सबैभन्दा महत्वपूर्ण पक्ष हो । पछिल्लो पटक भने यसको सङ्ख्या बढेसँगै संरक्षित क्षेत्रभन्दा बाहिर मानव बस्तीवरपर आएर मानिसलाई दुःख दिन थालेपछि सर्वसाधारणमा बाघको त्रास र संरक्षणकर्मीमा यसको चिन्ता थपिएको छ । यसले मानव र बाघबिच द्वन्द्व पनि बढाएको छ ।

संरक्षित क्षेत्रबाहिर बाघ 

चितवन राष्ट्रिय निकुञ्जको समीपमा रहेको मकवानपुरको मनहरीको प्रतापपुरका बलबहादुर राईको गोठमा गत भदौ ५ गते बिहानै मरेको बाघ भेटियो । बाघको पोस्टमार्टम गर्नुभएका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार त्यो बाघलाई भैँसीले हानेर मारेको हो । नयाँ आव लागेसँगै निकुञ्जमा बाघ मरेको भेटिएको यो नै पहिलो घटना हो । “भैँसीको आक्रमणबाट करिब छ वर्षको बाघ मर्‍यो । जङ्गलमै अर्को बाघसँग जुधेर शरीरभरि चोटैचोट भएको शिथिल बाघले भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टै भैँसीले नै आक्रमण गरेर बाघ मारेको पुष्टि भयो,” डा. श्रेष्ठले भन्नुभयो । भैँसीले बाघ मारेको घटना विरलै सुन्न पाइन्छ, त्यसमा पनि गोठमा बाँधेको भैँसीले बाघ मार्नु भनेको १० औँ आश्चर्यभित्र पर्छ । त्यो आश्चर्य मकवानपुरमा यो पटक देखियो । “जङ्गलमै दुई बाघ जुधेर यसलाई घाइते बनाएर लखेटेको रहेछ । यो १२/१३ दिनदेखि भोकै भएकाले शिथिल पनि थियो । आहाराको खोजीमा भैँसीलाई आक्रमण गर्न गएको, उल्टै भैँसीले हानेर मारिदियो,” उहाँले भन्नुभयो ।

यस्तै गत भदौ ३ गते निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको विनयीत्रिवेणीको बगुवनबाट करिब ६ वर्षकै बाघले स्थानीयका दुई बाख्रा र एक भैँसीलाई आक्रमण गरेर मारेपछि निकुञ्जले त्यसलाई नियन्त्रणमा लिएको थियो । मकैबारीमा लुकेर बसेको सो बाघको पछाडि फिलामा चोट छ । निकुञ्जले यो बाघ पनि आपसमा जुधेर घाइते भएको जनाएको छ । मर्ने बाघ मरेर गए पनि नवलपरासीको विनयीत्रिवेणीमै जसरी उद्धार गरेको बाघको सङ्ख्या पनि उल्लेखनीय पाइन्छ । नेपालमा दुई वर्षमा २० वटा बाघको उद्धार गरिएको तथ्याङ्क छ । यी सबै बाघ कुनै न कुनै रूपमा मानव बस्तीमा आएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो । यसरी नियन्त्रणमा लिइएका बाघमध्ये अधिकांश चितवन राष्ट्रिय निकुञ्जका हुन् । घाइते पशुपति श्रेष्ठ बाघ मानव बस्तीमा निस्कन थालेपछि मानिस असुरक्षित भएको बताउनुहुन्छ ।

“बाघहरू बाहिर निस्किएर असुरक्षित भयौँ । उसको पनि सङ्ख्या वृद्धि भइरहेको छ । उसलाई पनि जङ्गलमा खानेकुरा त छैन । ऊ पनि खानेकुरा खोज्दाखोज्दै सहरतिर आउन थाल्यो,” उहाँले भन्नुभयो, “धन्न मलाई आक्रमण गरेको बाघले संयोगले अहिलेसम्म अरू मानिस आक्रमण गरेको रहेनछ । म बाँचेँ, एक पटक मानिस खाएको बाघले दोस्रो पटक पनि मानिसै खोज्छ भन्ने सुनेको छु ।”

नेपालमा संरक्षित क्षेत्रबाट बाघ अहिले मानव बस्तीनजिकका साना साना वनमा निस्किएर स्थानीयलाई दुःख दिइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. श्रेष्ठ जङ्गलमा बाघ जुधेर घाइते हुँदा मानव बस्तीतिर निस्कने गरेको बताउनुहुन्छ । “वयस्क दुई बाघ आपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्द्धा बलियोले निर्धोलाई मार्न पनि सक्छ । कतिपय घाइते बनाएर लखेटिन्छन् । यसरी लखेटिएका बाघले निकुञ्जबाहिरका बस्तीमा आएर दुःख दिइरहेका छन्,” उहाँले भन्नुभयो ।

यसरी बाघ जुध्नुमा बाघको सङ्ख्या बढेसँगै संरक्षित क्षेत्रमा आहारा कमी हुनु पनि हो । चित्तल, जरायो, लगुना, मृग, रतुवा मृग, बँदेल, गौरीगाई, नीलगाई जस्ता जनावर बाघका आहाराजन्य जनावर हुन् । पछिल्लो एक अध्ययन अनुसार नेपालमा बाघ पाइने मुख्य बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा ९९ बाघका आहाराजन्य जनावर भेटिन्छन् । यो सङ्ख्या अन्य संरक्षित क्षेत्रमा पनि उस्तै उस्तै हो ।  सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ छन् । सन् २००९ को गणना अनुसार नेपालमा १२१ बाघ थिए । नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सन् २०१८ मै नेपालले प्रतिबद्धता पूरा गर्‍यो । सन् २०१८ को गणनामा नेपालमा २३५ बाघ भेटिएका थिए । बाघको सङ्ख्या बढेसँगै यसको संरक्षणमा पनि चुनौती थपिँदै गयो । वन्यजन्तुविद् डा. बाबुराम लामिछाने अहिले बाघको सङ्ख्या बढेसँगै वयस्क बाघहरू जुध्न लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । “यसरी बाघ फाइट गर्नु भनेको कि त निकुञ्जमा आहारा कमी भयो कि त बासस्थान सानो भयो,” उहाँले भन्नुभयो । बाघको पोथीले १५ देखि ४० वर्गकिलोमिटर र भालेले २५ देखि ६० वर्गकिलोमिटरलाई आफ्नो कार्यक्षेत्र बनाउने गर्छ । आफ्नो कायक्षेत्रमा अन्य बाघ आए उनीहरू आपसमा जुध्ने गर्छन् । यसरी जुधेका बाघ जित्नेले आफ्नो ठाउँ सुरक्षित गर्छ भने हार्नेले नयाँ ठाउँ खोज्ने क्रममा मानव बस्तीवरपरका साना वनमा आइपुग्छन् ।

विज्ञ डा. लामिछानेका अनुसार एक बघिनीले एक पटकमा चार वटासम्म बच्चा जन्माउँछ । “सय दिन बाघको गर्भधारण गर्ने समय हो । यसरी जन्मिएको बाघ करिब तीन वर्षमा आमा छाडेर आफ्नो बासस्थान खोज्न थाल्छ । हुर्कंदो बाघले आफ्नो ठाउँ खोज्दा पनि आपसमा जुध्ने गर्छन्,” उहाँले भन्नुभयो । बर्सातको समय निकुञ्जमा झाडी भएको र खुला ठाउँ सीमित ठाउँमा मात्रै रहेकाले आहाराजन्य जनावर त्यही हुँदा बाघको पनि आहाराको खोजीमा जम्काभेट हुँदा आक्रमण बढेको हुन सक्ने डा. लामिछानेको भनाइ छ ।

मानव बस्ती नजिकबाट उद्धार गरिएका बाघमध्ये कति निकुञ्ज क्षेत्रमै लगेर छाडिएको छ भने कति थुनेर पालिएका छन् । उद्धार गरिएका बाघमध्ये सौराहामा तीन, कसरामा दुई र देवनगरमा दुई गरी छ वटा बाघ चितवनमै थुनेर पालिएको छ । यस्ता समस्यामा परेर थुनेर पालिएका बाघ बर्दियामा चार र बाँकेमा एक छन् । बाघ थुनेर पाल्दैमा यसको स्थायी समाधान निस्कँदैन । थुनेका बाघ बरु मरिरहेका छन् । यसरी थुनेर पालेको बाघ गत जेठ ६ गते चितवनको सौराहामा मर्‍यो । दुई जना मानिस खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोरमा थुनेर पालेको थियो । उता पर्सा राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त भई खोरमा थुनेर राखेका तीन वटा बाघ २०८० असोज २५ देखि चैत १६ गतेका बिच खोरमै मरेको थियो । बाघ थुनेर पाल्न पनि समस्या छ, छाडेर पाल्न पनि समस्या छ । बुढो भएर, घाइते भएर आहारा गर्न नसकेपछि मानव बस्तीमा आएर बाघले दुःख दिने, मानिस तथा जनावरलाई आक्रमण गर्ने गर्छ ।

समस्याको समाधान 

गत साउन १४ गते अर्थात् जुलाई २९ गते परेको यो वर्षको विश्व बाघ दिवसको नारा ‘मानव बाघ सहअस्तित्व र समृद्धि’ भन्ने थियो । यही नाराले नै भन्छ– अब बाघबाट उत्पन्न समस्या कसरी समाधान गर्न सकिन्छ । बाघ–मानव द्वन्द्व कसरी घटाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान गरेका इकोलोजिस्ट हरिभद्र आचार्य जबसम्म बाघ र मानवबिचको सहअस्तित्व कायम गर्न सकिँदैन तबसम्म बाघको संरक्षण प्रभावकारी रूपमा अगाडि बढ्न नसक्ने बताउनुहुन्छ । “बाघको सङ्ख्या बढाएर मात्रै हुँदैन, यसको व्यवस्थापन पनि जरुरी छ,” उहाँले भन्नुभयो, “संरक्षित क्षेत्रभित्रै आपसमा लडेर, जुधेर मर्नु पनि बाघको प्राकृतिक रूपको व्यवस्थापन हो ।”

कतिपय देशमा व्यवस्थापन गर्न नसकिने बाघलाई मार्ने पनि गरिन्छ । पछिल्लो पटक सन् २०२२ को अक्टोबर ९ मा भारतको विहारमा १० जना मानिस र घरपालुवा जनावर खाएको बाघलाई गोली हानेर मारिएको थियो । नेपालमा पनि वन्यजन्तु ऐनमा मानिस खाने बाघ र बहुलाएको हात्तीलाई मार्न पाउने कानुनी व्यवस्था छ । इकोलोजिस्ट आचार्य बाघ व्यवस्थापनका लागि ‘किलिङ’ पनि एक माध्यम भएको बताउनुहुन्छ । “समस्याग्रस्त बाघको पहिचान गरी ‘किलिङ’ गर्ने नै हो,” उहाँले भन्नुभयो । डा. लामिछानेको एक अध्ययन अनुसार नेपालमा पाँच प्रतिशत बाघ समस्याग्रस्त छन् । पछिल्लो तथ्याङ्क हेर्दा यस्ता १८ वटा बाघ छन् । यसको पहिचान गरी व्यवस्थापन गर्नु अहिलेको चुनौती हो । बुढो वा घाइते भएर अशक्त भएका बाघलाई समस्याग्रस्त बाघ भनिन्छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका योजना शाखा प्रमुखसमेत रहेका आचार्य संरक्षित क्षेत्रमा आहाराजन्य जनावर बढाउन घाँसेमैदान निर्माणमा जोड दिए मात्रै पनि पनि बाघलाई संरक्षित क्षेत्रभित्रै टिकाउन सकिने तर्क गर्नुहुन्छ; जुन अहिले संरक्षित क्षेत्रले गरिरहेका छन् तर पर्याप्त छैन । हुर्कंदो बाघले आफ्नो ‘टेरोटोरियल’ बनाउन खोज्ने र यो बेला बाघहरू जुध्ने भएकाले निकुञ्जभित्रै आहाराजन्य जनावर बढाउन सकिए यो समस्या समाधान हुने तर्क उहाँले गर्नुभयो । “हुर्कंदो बाघले आमासँग छुट्टिएपछि आफ्नो बासस्थानका लागि ‘टेरोटोरियल’ बनाउन खोज्छ । यो बेला त्यहाँ भएको दोस्रो बाघसँग लडाइँ हुन्छ । दुई बाघको लडाइँ हुन नदिन उसले खोजेको क्षेत्रमै पर्याप्त आहाराजन्य जनावर पाउनु पर्छ,” उहाँले भन्नुभयो । अहिले चितवन, बर्दिया र बाँकेमा थुनेर राखेजसरी बाघ थुनेर राख्न सकिने अवस्था छैन । थुन्नैपर्ने अवस्था आए काठमाडौँको चिडियाखानामा जस्तै बाघ विचरण गर्न पाउने गरी प्राकृतिक रूपमै खोर निर्माण गर्न सकिने उहाँको तर्क छ ।

समस्याग्रस्त बाघको नियमित अनुगमन गर्ने, समस्याग्रस्त भए नियन्त्रणमा लिएर राख्ने, मानिस खाने भए ‘इन्क्लोजर’ मा राख्ने काम बाघ व्यवस्थापनका लागि तत्काल गर्नुपर्ने काम हुन् । दीर्घकालीन रूपमा बाघको सङ्ख्या र वासस्थानको अध्ययन गरी वासस्थान सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ