alliance khabar

आइतबार, पुष १३, २०८२

जानकी (बाँके),  पुस १३ गते । 

रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ ।

पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्नुहुन्छ । छोराछोरीलाई खाना खुवाएर बिहान ८ बजेसम्म उहाँ सखरखण्ड खन्ने ठाउँमा पुग्नुहुन्छ । बिहानदेखि बेलुकासम्म कठोर श्रम गरेर उहाँ दैनिक ६०० रुपैयाँ कमाउनुहुन्छ ।

“दिनभरिको कमाइले घर व्यवहार चलाउन सकेको छु”, उहाँले भन्नुभयो । गाउँकै व्यक्तिले बगरमा सखरखण्ड लगाएका थारुले बताउनुभयो । सखरखण्ड बालुवाबाट केलाएर झेउवामा हाल्ने र बिक्रीका लागि थुप्रो बनाउने काम रामपतिले दिनहुँ गर्नुहुन्छ ।

रामपति जस्तै सोही पालिका वडा नम्बर ६ मेहमानपुरका वीरबहादुर थारुको पनि यही दैनिकी बनेको छ । उहाँ पनि राप्ती नदीको बगरमाथिको बालुवामा लगाइएको सखरखण्ड खन्न दिनहुँ आइपुग्नुहुन्छ । दैनिक करिब १० घण्टा काम गरेर उहाँले पनि रामपतिले जस्तै रु ६०० कमाउनुहुन्छ ।

“घरमा पनि गर्ने खेती नै हो । अहिले खेतीको सिजन छैन । गाउँकै  साथीले लगाएको हुनाले खाली समय काम गरेर कमाउन आएको हुँ”,  उहाँले भन्नुभयो, “दैनिकी ज्याला थोरै भयो । तर खाली बस्नुभन्दा त यही पनि ठूलो कुरो हो ।”

जाडो याममा धेरै व्यक्ति आगो तापेर घरभित्रै बस्न चाहन्छन् । तर डाँडाटपरीका नन्कु गदिया भने बिहानै सखरखण्ड खन्न बगरतर्फ लाग्नुहुन्छ । उहाँ पनि रामपति र वीरबहादुर जस्तै दैनिक ज्यालामा काम गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ । सखरखण्ड खनेर कमाएको पैसाले परिवार र घर खर्च जोहो गर्न सहज भएको उहाँ बताउनुहुन्छ ।

“यो समय यसै पनि किसानहरू खाली बस्ने समय हो । तर यो समयमा सखरखण्ड खनेर भए पनि पैसा कमाउन पाएको छु”, उहाँले भन्नुभयो, “यसले मेरो घर खर्च चल्न सजिलो बनाएको छ ।”

बिहानको चिसो सिरेटोसँगै रामपति, वीरबहादुर र नन्कु जस्तै अन्य कामदार पनि सखरखण्ड खन्न राप्ती नदीको बगरमा आइपुग्नुहुन्छ । यही बगरमा डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले विगत ९ वर्षदेखि करिब २५ कठ्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्ड खेती गर्दै आउनुभएको छ ।

“मैले २०७४ सालमा बगरमाथिको यो जग्गा भाडामा लिएर सकरखण्ड खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “सुरुआती वर्षहरूमा नदीले डुबान पारेर बगरमा लगाएको सखरखण्ड सबै डुबाइदियो । त्यतिबेला मलाई लगभग ६०–७० हजार रुपैयाँ जति घाटा लागेको थियो ।”

फत्तेसिंहका अनुसार उहाँ सखरखण्डसँगै तरबुजा खेती पनि गर्दै आउनुभएको छ । सुरुआती वर्षहरूमा नदीको बहाव नियन्त्रण गर्न नसक्दा ठूलो घाटा बेहोर्नु परेको उहाँ बताउनुहुन्छ । “पहिला पहिला त खासै अनुभव थिएन । नदीको बगरमा लगाएको हुनाले नदीको बहावले मलाई धेरै घाटा बनायो । अहिले काम गर्दै जाँदा नदीको बहावलाई कसरी रोक्ने भन्ने कुराको अनुभव भयो र अहिले खासै घाटा भएको छैन”, फत्तेसिंहले भन्नुभयो ।

रु ४५ हजारको लगानीमा लगाएको सखरखण्ड फत्तेसिंहले यस वर्ष ६५ क्विन्टल उत्पादन गरिसक्नुभएको छ । हाल सखरखण्ड प्रतिकिलो ६० का दरले किसानबाट खरिद भइरहेको छ भने बजारमा रु ८० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । “अरु खेतीको तुलनामा यो खेती गर्न धेरै सजिलो छ । तर नदीको बहावको धार फर्काउन सक्नुपर्दछ”, उहाँले भन्नुभयो, “यसको बिरुवा उमार्न पनि खासै गाह्रो छैन । उम्रिसकेपछि फल्न फलाउन धेरै मेहनत गर्नु पर्दैन । तर यसलाई लगाउन कामदार धेरै चाहिन्छन र समय पनि धेरै खर्च हुन्छ ।”

फत्तेसिंहले फलाउनुभएको सखरखण्ड नेपालगञ्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ । सखरखण्ड खरिद गर्न अहिले व्यापारी राप्ती नदीको बगरमा आउने गरेका छन् । फत्तेसिंहले सखरखण्डका बिरुवा आफ्नै घरमा उमार्ने गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल